सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
रामसाँइली,
आऊ, तिमिलाई म
कुट्मिरो झारिदिन्छु
तिम्रो घरमा भैंसी ब्याएको छ !
राम साइँली,
तिम्रो घरमा दशैं आएको छ
भैंसीले पाडी पाएको छ !
आऊ, तिमीलाई म
कुट्मिरो झारिदिन्छु !
खुब मिठो मानेर खान्छ
भैंसीले कुट्मिरो,
तिमीले मेरो कुरा खाए झैं !
रामसाइँली,
घाँस खाओस् भैंसीले
तिमीले मेरा कुरा खानू !
आऊ, तिमीलाई म
कुट्मिरो झारिदिन्छु !
रामसाइँली,
तेश्रो बेत ब्याएको हो भैंसी
लगालग पाडी पाएको हो
गोरस टुट्दैन अब तिम्रो घरमा !
आऊ,तिमीलाई म
कुट्मिरो झारिदिन्छु !
भैंसी यसकारण प्यारो छ
किनकि पाडी पाएको छ !
पाडी यसकारण प्यारो छ,
किनकि पाडी भोली भैंसी बन्छ !
मेरो कुरा राम्रो संग खाऊ है
भैंसीले कुट्मिरो खाए झैं
आऊ, तिमीलाई म
कुट्मिरो झारिदिन्छु !
राम साइँली,
मेरो नाम पुरुष हो !
भोली प~~र्सी
तिम्रो गोठ मेरो घरमा सरेपछि
म पनि तिमीलाई
मीठा मीठा चिज खुवाउँला !
फल खुवाउँला-फुल खुवाउँला
नौनी खुवाउँला-मह खुवाउँला,
तर रामसाइँली,
अहिलै देखि बुझ,
तिमीले लगालग
पाडी पाउन चाहिं पाउँदिनौ !
राम साइँली,
आऊ, तिमीलाई म
कुट्मिरो झारिदिन्छु
तिम्रो घरमा भैंसी ब्याएको छ
तेश्रो बेत पनि पाडी पाएको छ !!
✍️ हेमन्त गिरी, जापान