सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण, मृतकको संख्या ३९ पुग्यो

प्रकाशित: ३१ असार २०७७, बुधबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको जनाए ।

यसअघि मंगलबार पनि १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेका छन् ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा ६९७ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार २५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २४ हजार ५२७ क्‍वारेन्टिनमा रहेका छन् भने ६ हजार ११३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ वर्षका पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा.गौतमले कोरोनाका कारण उनको बुधबार दिउँसो २ : ३० बजे निधन भएको पुष्टि गरे । असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो, रुघाखोकी लागेपछि असार २९ गते अस्पताल भर्ना भएका थिए ।

असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको भेन्टिलेटरमा उनको बुधबार निधन भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस




ताजा समाचार