सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको जानकारी गराए ।
नेपालमा देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६९५ रहेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १० हजार ३२८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २४ हजार ७१६ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६९५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।