सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

पोषण

प्रकाशित: २६ असार २०७७, शुक्रबार

डा. अरुणा उप्रेती

भिटामीन ‘ए’ को कमिले गर्दा बालबालिकालाई को रोग सँग लड्ने क्षमता कम भएर जान्छ, अनि राती आँखा नदेख्ने समस्या सँगै झाडा पखाला लाग्ने, स्वास प्रस्वासको समस्या हुने गर्दछ ।

यसरी झाडा पखाला र स्वास प्रस्वासको समस्या भएपछि बच्चालाई झन खानै मन नलाग्ने र कुपोषण बढदै जाने र मृत्यु समेत हुन सक्छ ।

यस्तो समस्या रोक्न सरकारले केवल औषधीहरु मात्र बाडेर समस्या समाधान हुन्छ भन्ठान्छ । तर दिगो विकासको जती भाषण गरेपनि बालबालिकाको कुपोषण कम गर्न दिगो विकासलाई ध्यानमा राखेको छैन, घरबाट नै कुपोषण हुन नदिन भनेर छलफल गरेकौ छैन ।

त्यस्तै अति नै पोषणले भरिपूर्ण अर्काे वनस्पति छ, सजीवन, जसको तरकारी बनाएर हामी कहिलेकाँही खान्छौँ । तर सजीवन तरकारी मात्रै होइन कि कुपोषण नहोस भनेर यसको प्रयोग वा कुपोषण भइसकेका बालबालिका वा वयस्कको लागि त यसले सजीवनी नै होभन्ने तथ्य पनि प्राय हामीलाई थाहा छैन ।

तराईको त घरघरमा सजीवन हुन्छ, सड्कका छेउमा पनि यो रुख हुन्छ । तर सजीवनको महत्वको बारेमा त कसैले प्राय भन्ने चलन नै छैन ।

बज्यैहरुले यसको तरकारी खानुपर्छ त भन्नु हुन्थ्यो तर किन सजीवनको तरकारी चाँही उखानमा हाल्न नै मन लाग्दैन थियो । दाल र भात मात्र खाएर यसको तरकारी चाँही छोडिदिन्थ्यौ । अहिले पो सजीवन यती राम्रो वनस्पती रहेछ भन्ने थाहा भयो । नेपालञ्जमा गणेश शर्माले सजीवनको बारेमा छलफल गर्दा आफ्नो अनुभव सुनाएका थिए ।

सजीवनलाई कति जनाले शितल चिनी पनि भन्छन । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मुङा र कतै सहिजन पनि भन्छन ।

विभिन्न वैज्ञानिकहरुको भनाई अनुसार सजीवन जस्तो गुण भएको विरुवा अर्काे पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दुध, अन्डामा जतिकै गुणकारी हुन्छ र अझ कतिजनाले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन सजीवनमा पाइन्छ भन्छन ।

गर्भवती आमा र शिशुलाई दुध र अण्डा खानु भन्ने हामी स्वास्थ कर्मीले भन्छौँ । सजीवन खानु र स्वास्थ बनाउ, कुपोषणबाट बच र बचाऊ भन्ने हिचकिचाउँछौँ । किनभने हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ र भनेर सिकाइएको छैन र घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्छाैँ ।

पात पनि उतिकै पौष्टिक छ पातमा भिटामिन सी पोटासियम, आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सुक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको यो उपहार हो । तर तराईतिर जताततै पाइन्छ तर यो पौष्टिक उपहार अपहेलित छ ।

अनि स्वास्थ मन्त्रालय चाँही बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महगो औषधी बाँडद हिँड्छ । तर समुदायलाई आमालाई करेसा वरीपरिको सितैमा पाईने सजीवन खानु भनेर सिकाउँदैन ।

फलामको भाँडोमा पकाएको दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा रक्त अल्पता कम हुन सक्छ ।
साइट्रिक एसिड विभिन्न फलफुलमा पाइन्छ भनेर १७ औ शताब्दीमा पत्ता लागेको हो । शरीरको अतिरिक्त क्रियाकलापहरुलाई सुचारु रुपले चलाउन यो एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ ।

भिटामिन सी.ले भरिपुर्ण कागतीको प्रयोग धेरे गरिन्थ्यो होला यदि कागती विदेशबाट प्याकेटमा आउने र ठुला ठुला पसलहरुमा मह‌गोमा बेचिने भएको भए । तर फुटपाथमा वा तरकारी पसलमा जताततै पाइने हुनाले शायद यसलाई हेपिएको होला ।

कागतीको चिया जब ‘लेमोन’ टी भनेर पाँचतारे होटलमा रु १५० मा बेचिन्छ हामी मीठो मानेर खान्छौं र सजिलै पैसा तिछौं ।

तर त्यही कागतीको रस हालेर चियाको सर्वत खान वा पाहुनालाई सत्कार गर्दा पाहुनाले अपमान गरेको भन्ठानलान कि भने विचारले हामीहरु प्राय तसिन्छौ र गर्मीको बेलामा पनि स्वास्थ्यकर कागतीको सर्वत हामी दिन हिचकिचाउछौ ।

घरकी मुर्गी दाल बराबर भनेको यही होला ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार