सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

विदेशबाट २३ नेपालीको शव नेपाल ल्याइयो

प्रकाशित: ५ असार २०७७, शुक्रबार

काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेशमा मृत्यु भएका २३ नेपालीको शव नेपाल ल्याइएको छ । शुक्रबार कुवेतबाट १ सय ५० जना कामदार नेपाल आएका छन् भने दुई शव काठमाडौं ल्याइएको छ ।

यस्तै दुबईमा समस्यामा परेका १ सय ४८ जनालाई नेपालीलाई नेपाल एयरलायन्सको विमानबाट उद्धार गरिएको छ । उक्त विमानमा पनि एउटा शव ल्याइएको छ ।

आजैै कतारको दोहाबाट कतार एयरवेजले ४३ कामदार र २० वटा शव ल्याएको ल्याएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट ल्याइएका शवमा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको रहेको छ ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव ल्याइएको छ ।

विदेशमा विभिन्न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्याउन लागेको छ । यसअघि मृतकका आफन्तले निःशुल्क शव ढुवानीका लागि काठमाडौं आएर निवेदन दिनुपर्ने व्यवस्था थियो ।

कोरोनाको कारण काठमाडौं उपत्यकामा मृतकका आफन्त आउन नसक्ने अवस्थामा परिवारसँग समन्वय गरी बोर्ड आफैंले शव बुझेर उनीहरूको घरसम्म पुर्याउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार