सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

किताब

प्रकाशित: २ असार २०७७, मंगलवार

किताब हिजो पनि आएको थियो
दमैको झुप्रोमा
अनि थमाइदिएको थियो एक हातमा सियो
र अर्को हातमा बाबुसाहेबलाई मन पर्ने लुगा

किताब हिजो पनि आएको थियो
सार्कीको छाप्रामा
अनि सुम्पेको थियो एक हातमा काँचो छाला
र अर्को हातमा राजासाहेबका खुट्टाको नापो

किताब हिजो पनि आएको थियो
कामीको आरनमा
अनि जिम्मा दिएको थियो दरबारका पुराना हतियार
र बनाउन भनेको थियो तिखा, धारिला र बलिया
०००
किताब आज फेरि आइपुगेको छ
दमैको दैलामा
र, खोसिरहेको छ जबर्जस्ती हाते मेशिन

किताब आज फेरि आइपुगेको छ
सार्कीको पिंढीमा
र, भुत्ल्याइरहेछ सार्कीकै सन्तानको छाला

किताब आज फेरि आइपुगेको छ
कामीको आरनमा
र, सोहोरेर लगिरहेछ फेलापरेसम्म फलामका टुक्रा

हो, किताब हिजो पनि आएको थियो
आफन्ती रुप र पुरानो परिचयमा
अनि लुटेर लगेको थियो हाम्रो पौरख
किताब आज फेरि आइपुगेको छ
नयाँ गाता र नयाँ आकारमा
अनि भाँचेर गएको छ हाम्रा पाखुरा
०००
किताब आउने नै छ भोलि पनि
अब आउनेछ त्यस्तो किताब
जसले चुम्नेछ हाम्रा औंलाहरु
मुसार्नेछ हाम्रो निधार
मिलाउनेछ हामीसँगै हात
हामी लेखिरहेका छौं यतिखेर त्यही किताब
रगत र पसिनाको मसीले
र, कुल्चादै हिंडिरहेका छौं
यी विद्यमान किताबका छातीमाथि ।

@Sangeet Srota



प्रतिक्रिया दिनुहोस




ताजा समाचार