सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भ्रष्टाचार विरुद्ध विशेष कोर्षका लागि नेपाली अधिकारीको प्रशिक्षण भारतमा

प्रकाशित: २१ पुष २०७६, सोमबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा ६ दिने प्रशिक्षण शुरु गरेका छन् ।

यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यस अघि आयोगकै २१ जनाअधिकारीको पहिलो ब्याचले गएको मंसिर ३० गतेदेखि पुस ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिइसकेका छन् । संकायका अनुभवी सदस्यहरुबाट संचालित सो प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेकोे बताइएको छ ।

नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाएको छ । नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीकालागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो ।

नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियारको संस्थागत क्षमतालाई सुदृढ पार्ने विश्वास लिइएको छ ।

मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्नेछ ।

यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउने अपेक्षा राखिएको छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आइटीइसी)कार्यक्रमअन्तर्गत रहेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार