सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतद्वारा तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक

प्रकाशित: १७ पुष २०७६, बिहीबार

नयाँदिल्ली । भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ ।
भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान–३ मिसनसम्बन्धी कार्य सहज रूपमा अघि बढिरहेको बताएका छन् ।
सो मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म पुग्न सक्ने सम्भावना छ ।

योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ जसले कम लगानीसहितको अन्तरिक्ष शक्तिका रूपमा उसको साख बढाउनेछ ।

चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीन मात्रै सफल मिसन कार्यान्वयन गर्न सफल भएका छन् ।

यसअघि सन २००८ मा भारतले चन्द्रयान–१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।
यसै वर्ष प्रक्षेपण गरिएको चन्द्रयान–२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए ।

चन्द्रयान–२ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ ।

इसरोका अध्यक्ष शिवनका अनुसार चन्द्रयान–३ मा यसअघिको मिसनकै जस्तै ‘कन्फ्युगरेसन’ हुनेछ । चन्द्रयान–२ भारतको अन्तरिक्ष निकायले प्रयास गरेको हालसम्मकै कठिन मिसन थियो ।

यसले चन्द्रमामा पानी र खनिज पदार्थको खोजीका साथै त्यहाँको भूकम्प मापन गर्ने लक्ष्यका साथ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने लक्ष्य लिएको थियो जहाँ हालसम्म कुनै पनि यान पुग्न सफल भएको छैन ।

तर गत सेप्टेम्बरमा चन्द्रमाको सतहमा ठोक्किएर उक्त यानले अवतरण गरेपछि त्यो महत्त्वाकाक्षी मिसन सफल हुन सकेन ।

शिवनका अनुसार नयाँ मिसनमा पनि पुरानै क्षेत्रमा अवतरण गरिने योजना बनाइनेछ र पुरानो मिसनमा जस्तै उपकरणहरूको प्रयोग गरिनेछ ।
नयाँ उपकरणहरूको मूल्य करिब ३५ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ। मिसनको पूर्ण लागत भने निकै बढी हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार