सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

घरेलु हिंसाले टुटेका परिवार जोडिँदै   

प्रकाशित: २२ मंसिर २०७६, आईतवार

राजेन्द्प्रसाद पनेरु
कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका गोविन्द रानाले मदिरा सेवन गर्न छाडेका छन् । हिजोआज मदिराका कारण परिवारमा हुने कलह हटेको छ । तीन जनाको परिवारमा खुशी छाएको छ ।
मदिरा सेवन गरी सधैं श्रीमतीलाई दुःख दिएको कुरा उहाँका लागि विगत भएको छ । त्यसलाई उनी सम्झन पनि चाहँदैन । मदिराकै कारण श्रीमतीमाथि हुने हिंसाले उनको परिवारमा सधैं कलह मात्रै हुन्थ्यो । त्यसकै कारण परिवारमा विवाद बढ््दै जाँदा सम्बन्ध विच्छेदसम्म पुगेको थियो । परिवारमा तनाव बढ्दै गएपछि विवाद गाउँमै रहेको मेलमिलाप केन्द्रमा पुग्यो ।
पहिलो पटक मध्यस्थकर्ताहरुले गोविन्दलाई मदिरा सेवन गर्दा हुने हानिका बारेमा सम्झाए तर, उनले मानेन् । उल्टै मेरो बदनाम गराउन खोजेको भन्दै झनै मदिरा सेवन गरी श्रीमती छोटी रानालाई कुट्न थाले । “सधैं घरमा झैझगडा हुने भएकाले सम्बन्ध विच्छेद गर्न नै पर्छ भन्ने भावना मनमा आइरहन्थ्यो,” छोटीले भनिन् – “श्रीमान्ले सधैं मदिरा सेवन गरी कुट्नु नियमित जस्तै थियो । म मानसिक रुपमा समेत कमजोर हुन थालेकी थिएँ ।”
उनले भनिन् – “घरपरिवारको सल्लाहमै पुनः मेलमिलाप केन्द्रमा पुगेपछि श्रीमान्ले मदिरा सेवन नगर्ने प्रण गरे । परिवारका सदस्यसँगै मेलमिलापकर्ताको सम्झाइबुझाइले काम ग¥यो । श्रीमान्ले मदिरा छाडेपछि सधैं हुने हिंसा सदाका लागि हटेर गएको छ । एक छोरा सहित तीनजनाको परिवारमा अहिले सुख छ ।” गोविन्दासमेत मदिरा सेवन गरी घरकी लक्ष्मी जस्तै श्रीमतीमाथि हिंसा गरेकामा पछुतो मान्छन् ।
“अब मदिरा पिउँदिनँ,” उनले भने – “यसले सम्बन्ध मात्रै बिगार्दैन । धन र स्वास्थ्यमा समेत क्षति पु¥याउँछ ।” उनले भने – “मदिरा तपाई पनि नपिउनु होला । यसले सम्बन्ध तोड्ने कार्य मात्र गर्दैन, सामाजिक प्रतिष्ठा समेत गुम्छ ।”
मदिराका कारण बिग्रँदै गएको श्रीमान् र श्रीमतीबीचको सम्बन्धलाई पुनः जोडी समाजमा पुनःस्थापन गर्न पाउँदा निकै खुशी लागेको मेलमिलापकर्ता मधु बोहराले बताए ।
“विगतमा सधैं हुने झैझगडाले सम्बन्ध जोडिएला भनेर सोचेकै थिएनौं,” बोहराले भने– “सम्झाउँदाको परिणामले दुवैजना सँगै काम गर्न जाने, परिवारमा सल्लाह गर्ने र हिंसारहित वातावरणमा बस्न थालेको देख्न पाउँदा गर्वको अनुभूति हुने गरेको छ ।”
गाविन्दा र छोटी जस्तै शुक्लाफाँटा नगरपालिका–७ का फागुने सुनार र राधिका सुनारको परिवारमा हुने झैझगडा पनि सधैंका लागि हटेको छ ।
”श्रीमतीसँग सानै कुरामा विवाद हुँदा हिंसाकै तहसम्म पुग्दथ्यो,” फागुनेले भने – “खाना नमिठो बनाउँदा समेत रिस उठ्थ्यो । रिस उठेपछि हातपात हुनु कुनै नौलो कुरा थिएन ।”
विवाह गरेको धेरै भए पनि सन्तान नहुँदा उनको परिवारमा निकै तनाव थियो । त्यही कुरालाई लिएर समेत परिवारमा कलह हुन्थ्यो । “म अर्की श्रीमती ल्याउन चाहन्थे,” उनले भने – “एकले अर्काको कुरा सुन्न चाहँदैनथ्यौं । श्रीमतीले यसै कुरालाई लिएर रडाको मच्चाउँथिन् । त्यसपछि हिंसामा उत्रन्थे ।”
उनले भने – “मिलेर बस्नु पर्छ भन्ने भावना मनमा उब्जियो । बहुविवाह गर्ने कुरा बिर्सिदिए । श्रीमतीसँग सम्झौता गरें ।”
श्रीमतीले समेत विगत बिर्सिइन् । “मिलेर बस्न थालेपछि सन्तानको चिन्ता समेत हट्यो,” उनले भने – “मिलेर बसेको परिणाम स्वरुप दुई छोरा र एक छोरीको बुवा हुन पाएको छु ।”

अहिले दुवै जना मिलेर घरसल्लाहदेखि अन्य काममा हातेमालो गरेर अगाडि बढ्दै आएको छ यो जोडी । सुनार दम्पती गाउँमै उदाहरण बनेको छ ।
मानव जातिले एकमाथि अर्काले हिंसा गर्नुपर्ने रहेनछ । हिंसाले परिवार त टुट्छ नै । समाजको विश्वास समेत गुम्ने भएकाले मानसिक प्रताडनामा बाँच्नु पर्ने हुन्छ । फागुनेले भने – “बिर्सेर पनि घर सम्हाल्ने गृहणीमाथि हिंसा नगरौं । मैले विगतमा जे गरे त्यसमा पछुतो छ ।” उनका अनुसार घर टुट्नुको कारण महिलामाथि गरिने अविश्वास नै हो । वैवाहिक बन्धनमा बाँधिए पछि एकले अर्काको सम्मान गर्न सके मात्रै परिवारको सम्बन्ध कायम रहने हो । लिङको आधारमा विभेद गरी हिंसा गर्नु मानवीयता हैन ।
शुक्लाफाँटा नगरपालिका कार्यपालिका समितिका सदस्य विमला सार्कीका अनुसार घरबाट मात्रै महिलामाथि हिंसा हुने होइन कि सामाजिक रुपमै हिंसा हुने गरेको छ । “समानताको युगमा असमानताको व्यवहार व्यहोर्नु परेको छ,” उनले भनिन् – “अधिकारका कुरा गर्नेहरुका घरका महिलाहरु सबैभन्दा बढी पीडित रहेका छन् ।”
“म नगरपालिकाको कार्यपालिकाको बोर्ड सदस्य हुँ,” उनले भने – “महिलाका लागि बजेट विनियोजन गर्दा विभेद सहनु पर्ने । बैठकमा बोल्दा महिलाले बोलेर के नै हुन्छ भनेर फरक व्यवहार गर्ने । यी पनि मानसिक हिंसा नै हुन् जुन हामीले सहँदै आएका छौं ।”
चेतना भएकै वर्गमा यस्तो सोच हाबी हुँदा अरुको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ । अहं त्याग्न नसक्दासम्म समाजलाई हिंसा मुक्त गर्न नसकिने उनको ठम्याइ छ ।
नगरपालिकाको न्यायिक समिति सदस्य उत्तरदेव भट्ट पुरुषप्रधान समाजको चिन्तनका कारण महिलामाथि हिंसा बढ्ने गरेको बताउँछन् । उनले भने – “मेलै भनेको मानेन भन्ने भावनाले पुरुष बढी हिंसात्मक हुने गरेका छन् । हिंसात्मक सोचलाई त्याग्न सकेमात्रै समाजलाई समुन्नत बनाउन सकिन्छ ।”
उनले भने – “नारी निन्दा हुँदा सबै कुरा बिग्रिन्छ । वचनको हिंसालाई त्याग्न सके मात्रै समाजलाई परिवर्तन गर्न सकिन्छ ।”
“सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा भगवतीको पूजा हुन्छ, नारी शक्तिलाई पहिला भगवतीको रुपमा लिइँदा परिवार जोडिएका थिए,” उनले भने – “घरकै भगवतीको सम्मान गर्न छाडेर हिंसातर्फ समाज उन्मुख हुन थालेपछि परिवार त टुट्ने नै भए ।”

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई ३६५ दिनमै पु¥याउनु पर्ने उनको सुझाव छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुन थालेपछि यस क्षेत्रमा महिलामाथि हुने हिंसाबारे व्यापक रुपमा चासो व्यक्त गर्न थालिएको छ ।
यो अभियानले महिलामाथि हुने हिंसाका विरुद्ध महिलाहरु खुलेर कुरा गर्न थालेका छन । महिला र बालबालिकामाथि हुने शारिरीक, मानसिक तथा यौनजन्य हिंसाका घटनाहरु क्रमशः बाहिरिन थालेका छन् ।
शुक्लाफाँटा नगरपालिकामा सञ्चालित सामुदायिक सेवा केन्द्रले चार वर्षको अवधिमै घरेलु हिंसामा परेका २८८ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । पारिवारिक पुनर्मिलन गराएका सबैजनाले महिलामाथि गर्ने हिंसा छाडेर सहज जीवन बिताउदै आएको महिला अधिकारकर्मी द्वारिका कुँवरले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार हिंसाबाट प्रभावित भै आव २०७३÷७४ देखि आव २०७५÷७६ को असोज महिनासम्म आत्महत्या दुरुत्साहनसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । झुिण्डएर आत्महत्या गर्नेको सङ्ख्या २१५ छ जसमध्ये महिलाको सङ्ख्या बढी छ । सोही अवधिमा जबर्जस्ती करणीका ६२, जबर्जस्ती करणी उद्योगका ४९ र मानव बेचबिखनका ३६ मुद्दा दर्ता भएका छन् ।
(रासस)



प्रतिक्रिया दिनुहोस




ताजा समाचार