सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कश्मीर मुद्दामा, नेपाली जनता मोदीको समर्थनमा

प्रकाशित: २८ श्रावण २०७६, मंगलवार

काठमाडौंः दक्षिण एसिया तथा विमेस्टिक क्षेत्रमा मौलाउँदै गएको इस्लामिक आतंकवादले धेरै तनाव दिइरहेकै बेला भारतले कश्मीर राज्यलाई संविधानअनुसार केन्द्र शासित प्रदेश बनाएको छ । केही समय अगाडि भारतीय जनता पार्टीको सरकारले संविधानको धारा ३७० र उपधारा ३५ (ए) को प्रावधान हटाई जम्मू—कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई केन्द्रशासित प्रदेश बनाएको प्रतिक्रिया नेपालमा पनि देखिन थालेको छ । अधिकांश नेपाली जनताले यो भारतको आन्तरिक मामिला भएको र त्यो कदमलाई नेपालले समर्थन गर्नुपर्ने धारणा राख्दै आएका छन् । यद्यपी सरकार र केही राजनीतिक दलहरु मौन देखिएका छन् । यो आफैमा अस्वभाविक देखिएको छ । यस बारेमा चालिएका कदमलाई लिएर राजनीतिक दलको प्रतिक्रिया आउन सुरु भएको छ । यस ठोस कदमसँगै जम्मू—कश्मीर तथा त्यसबाट अलग्याइएको लद्दाख क्षेत्रलाई एउटा नयाँ पहिचान र सम्मान मिलेको बताइएको छ ।

भारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले लिएको उक्त कदमको नेपाल रिपब्लिक पार्टीले खुलेर स्वागत गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गरी भारतको उक्त कदम को सराहना गर्दै अगाडी भनेको छ यो काम भारतले धेरै पहिले देखिनै गरिसक्नु पर्ने थियो तर यो कार्य दृढतासाथ सम्पन्न गरेकोमा सत्तारुढ भारतीय जनता पार्टीलाई पनि हामी बधाई ज्ञापन गर्दछौँ ।
एउटै देशभित्रका बेग्लै झण्डा, संविधान र नेतृत्व कायम रहनु र देश विखण्डनका नारा तथा गतिविधिले पश्रय पाउनु कुनै पनि संप्रभुतासम्पन्न देशका लागि स्वीकार्य हुन सक्दैन ।
भारत सरकारको यस कदमले भारतलाई यस अवस्थाबाट मुक्त गरेको छ र राष्ट्रिय एकीकरणको कामलाई सच्चा अर्थमा पूर्णता प्रदान गरेको छ । राष्ट्रिय संप्रभुता, अखण्डता र कानूनी राज्यको हिमायती कुनै पनि लोकतान्त्रिक मुलुकले यस कदमको समर्थन गर्नुपर्छ ।
अनावश्यक कुरामा लम्बे चौडे वक्तव्य दिएर नथाक्ने नेपालको वर्तमान कम्युनिष्ट सरकारले मित्रराष्ट्र भारतका शत्रुहरूलाई सहयोग पुग्ने गरी यस मामिलामा धारण गरेको मौनता रहस्यमय मात्र होइन, घोर आपत्तिजनक समेत छ । नेपाल सरकारको यो मौनता एउटै देशभित्र दुई बेग्लै झण्डा, फरक संविधान र फरक नेतृत्व तथा देश विखण्डनका गतिविधिको सक्रिय मौन समर्थन पनि हो ।

त्यसैले यस घटनाप्रतिको सरकारी मौनता सत्तारुढ कम्युनिस्ट पार्टीको राष्ट्रघाती, जनविरोधि प्रवृत्तिको मुखर विज्ञापन हो । प्रादेशिक विभेद, साम्प्रदायिकता र राष्ट्रविखण्डनको विपक्षमा उभिने नेपाल सरकारको नैतिक धरातल यसले पूर्णतः ध्वस्त पारेको छ ।
सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त तथा लोकतन्त्रवादी शक्ति र जनतालाई यसतर्फ सचेत रहन आग्रह गर्दै पार्टी अध्यक्ष सिद्धार्थ गौतम द्वारा जारी उक्त विज्ञप्ति भनिएको छ— कम्युनिस्ट नेतृत्वको नेपाल सरकारको यस रवैयाको तीव्र भत्सर्ना गर्दछ । साथै, राष्ट्रिय संप्रभुता र अखण्डताका पक्षधर सम्पूर्ण नेपाली जनता भारत सरकारको कदमको समर्थनमा रहेको स्पष्ट पार्दै यस कदमप्रति हामी जम्मू कश्मीर र लद्दाखको समेत सम्पूर्ण भारतीय जनताप्रति बधाई व्यक्त गर्दछौँ । गौतमले आफ्नो वक्तव्यमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार