थाईल्यान्ड पुगेकी साउदी युवतीलाई ‘शरणार्थीको मान्यता’

२५ पुष २०७५, बुधबार मा प्रकाशित

काठमाडौं । इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै भागेर थाईल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले बताएको छ ।

अठार वर्षीया रहाफ मोहम्मद अल–कुकुनले केही गत सप्ताहान्तदेखि संयुक्त राष्ट्रसंघ र विभिन्न देशसँग आफूलाई शरण दिन आग्रह गरिरहेकी थिइन् ।

शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी उनलाई थाईल्यान्डको विमानस्थलमा नियन्त्रणमा लिइएको थियो ।

थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे अविच्छिन्न रूपमा जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गरिन् ।

थाई अधिकारीहरूले सोमबार उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए । तर आफू असुरक्षित भएको भन्दै उनले नजाने अडान लिएकी थिइन् ।

सोमबार साँझ उनलाई संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो ।

यूएनएचसीएचआरले ती युवतीको मागबारे विचार गर्न अस्ट्रेलियालाई औपचारिक सिफारिस गरेको थियो ।
अस्ट्रेलिया सरकारको डिपार्ट्मेन्ट अफ होम अफेअर्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै सो सिफारिसलाई नियमित तरिकाले हेर्ने जनाएको छ । तर सरकारले सो विषयमा थप टिप्पणी नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अस्ट्रेलियाका वरिष्ठ अधिकारीहरूले उनको शरणको मागलाई स्वीकार गरिने संकेत दिएका थिए ।
संयुक्त राष्ट्रसंघको धारणा सार्वजनिक हुनुअघि समाचारसंस्था एबीसीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री ग्रेग हन्टले यदि उनी शरणार्थी भएको पाइए उनलाई मानवीय सम्वेदनाका आधारमा प्रवेशाज्ञा दिन सकिने बताएका थिए ।

आफूले इस्लाम धर्म परित्याग गरेर भागेको हुनाले परिवारबाटै आफ्नो ज्यान असुरक्षित भएको दाबी मोहम्मद अल–कुकुनको छ । साउदी अरबमा धर्म परित्याग गर्दा मृत्युदण्ड दिने कानुनी प्रावधान पनि छ ।

अहिले उनका पिता र दाइ थाईल्यान्ड पुगेका छन् । तर उनले तिनलाई भेट्न अस्वीकार गरेकी छन् ।
परिवारले उनले लगाएका आरोपबारे सार्वजनिक रूपमा केही टिप्पणी गरेको छैन ।

साभार बीबीसी

तपाईंको प्रतिकृयाहरू