गाईबाट दुई लाख आम्दानी

१६ कार्तिक २०७५, शुक्रबार मा प्रकाशित

पाल्पा: गाई पालन व्यवसाय थालेपछि यहाँका युवाले मासिक ५० हजारदेखि २ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक ७० हजारदेखि १ लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । २०६७ सालमा साउदी अरबबाट फर्केर गाई पालन व्यवसाय सुरु गरेका रेश्मीसँग हाल १७ वटा गाई छन् । १० वटा गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ ।गाई पालनबाट रेश्मी परिवार सन्तृष्ट छ । चिनारीका रुकवीर रेश्मीले बराइनबाट फर्केर २०६७ सालदेखि गाई पालन गर्दै आएका छन् । उनले मासिक डेढ लाख आम्दानी गर्दै आएका छन् । रेश्मीले भने, ‘गोठमा ३२ उन्नत जातका गाई छन्, दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाई पालन थालेका छन् ।

तपाईंको प्रतिकृयाहरू