“भोलि पृथ्वी ध्वस्त हुँदैछ”

२४ भाद्र २०७५, आईतवार मा प्रकाशित

महाविनासको त्रास र जीवनको महान् सत्य

बालाकृष्ण अधिकारी
भोलिदेखि सूर्य उदाउँदैन । यसको मतलव भोलिदेखि दिन आउँदैन । म आत्तिएँ । मनमा ठुलो कम्पन हुन थाल्यो । के गरूँ के नगरूँको दोसाँधमा अल्झिएँ । कुनै सुझ आएन । हतारमा आधारभूत सामग्री झोलामा पोको पारेर हिँड्न पो तयार भएँ । तर कहाँ जाने ? आखिर झोला पनि त किन चाहियो ? जीवनको कुनै भर नभएपछि, पृथ्वीको अस्तित्व नरहने नै भएपछि मैले झोला बोक्ने झमेलो गर्दै गरिनँ । सूर्य अस्ताचलमा निदाइसकेको थियो । मैले सुने अनुसार भोलि ऊ फेरि यस धर्तीमा उज्यालो लिएर ब्युँझने छैन, तातो लिएर मायाको आलिङ्गनमा मलाई बाँध्ने छैन । उफ्, यो कस्तो परिस्थिति भोग्नु पर्दैछ मैले !
एउटा गल्ली छिचोलियो तर छिचोलिएन विनाशको आतङ्क । बाटोमा गाडीहरू हतारिँदै थिए । किन हतारिएका यस्तरी ! मैले सोच्न नभ्याउँदै एउटा ट्याक्सी मलाई छोएरै ट्याँयाँ गरेर गयो । मलाई कुनै क्षति गरेन तर अप्रत्यासित मृत्युको भयले मेरो मस्तिष्कलाई भने क्षति गरिरह्यो । म यात्रामा निस्केको मान्छे । मैले यात्रा रोक्नु हुँदैन । मेरो धर्ती रहेसम्म, म रहेसम्म यसको सौन्दर्य जुन मैले हेर्न बाँकी नै छ, नहेरी हुँदैन । मैले यात्रा रोकिनँ । फूलका, पातका, रूखका अक्करमा लुकेका सुन्दरताको आस्वादन मैले गर्नै पर्छ । हिमालका, पहाडका, तराईका, खोँचका, गल्लीका, गाउँका, सहरका, एसियाका, अफ्रिकाका, अमेरिकाका, युरोपका, अष्ट्रेलियाका फरक फरक ठाउँका भिन्न भिन्न भव्यता तथा जलका, थलका र नभका आश्चर्यहरू मैले हेर्नु छ । आखिर भोलि म पनि रहन्न, ती पनि त रहन्नन् । ओहो, कस्तो विरोधाभास ! जसले मेरै आँखाको प्रतीक्षा गर्दै आफूलाई सुन्दर बनाएर बसिरहेका छन् तिनैलाई हेरेर, छोएर मैले आत्मतृप्तिको म्वाइँ खान पाउने छैन ।
मेरो हृदयका कोसहरू उफ्रिरहेका छन्, झङ्कृत भइरहेका छन् । बेलाबेलामा कन्सिरीका रौँ ठडिन्छन् । मेरा समग्र जिजीविषाको कसरी अन्त्य होला र ! मलाई जन्म दिने प्रकृतिलाई एकैपटक कसरी निल्न सक्ला र भयानक अन्धकारले ! सम्झिँदा पनि अत्यास लागिरहेको छ । अघिसम्म बागमती बगिरहेको थियो, पर उत्तरतर्फ हिउँको च्यादर ओडेर जुगल हिमाल मुस्कुराइरहेको थियो । गोदावरी पार्कमा गुलाबका फूलहरू उसरी नै फुलिरहेका थिए । धरहरा काठमाडौँको छातीमा उभिएर उही स्वाभिमानका साथ आकाश ताकिरहेको थियो । सिंहदरबार शितल निबासलाई हेरेर उसरी नै व्यङ्ग्य गरिरहेको थियो । सानेपा र बल्खु उसरी नै बालुवाटारतिर हेरेर गर्जिरहेका थिए । हिटलर, इदी अमिन, सद्दाम हुसैन, लादेन, गद्दाफी आदिका प्रेतले धर्तीका सामान्य मान्छेलाई उसरी नै तर्साइरहेका थिए । बुसको खुस्किएको शक्ति, ओबामाको खस्किएको आकर्षण आदि सबैले विश्वलाई अत्याइरहेका थिए । हुनेहरू डिसेम्बरको जाडोमा एसीमा मस्त थिए, नहुनेहरू सडकमा अस्तव्यस्त थिए । कोही जिउँदै ताप्न नपाएको आगो चिहानमा तापिरहेका थिए । विभेद जहाँको त्यहीँ थियो, अस्तव्यस्तता पनि जस्ताको त्यस्तै थियो । अझै अनिश्चितता बोकेर आएको समयले देशलाई उसरी नै निल्न तम्सिरहेको थियो । यी सबैका बिचमा सर्वोच्च शिखर सगरमाथाको अटल शिरमा पाल्पाली र भादगाउँले टोपी लगाएर मेरा समस्त नेपाली बन्धुहरू उसरी नै आआफ्ना कर्ममा लागिरहेका थिए । यथावत् चलिरहेको थियो सम्पूर्ण पृथ्वी । उसरी नै चलिरहेको थियो प्रकृतिको नियम । एक्कासि कसरी समाप्त होला र यो सबै ! म कसरी पत्याऊँ ? अनायास ममा आएको यो मृत्युचीत्कारलाई मैले अयथार्थ भन्न वा मान्न पनि त सक्दिनँ । मैले मेरो धर्ती आँखाले भ्याएसम्म हेर्नै पर्छ । छातीमा बोकेर मृत्युपीडा, मुखमा भरेर मृत्युचीत्कार, म दौडिरहेको छु मेरो धर्तीको सृष्टि सौन्दर्य हेर्न, मेरो र मेरो धर्तीको सृष्टि रहस्य बुझ्न ।
यो भव्य महल ? कहिँ पढेसुने जस्तो लाग्छ । हो हो, त्यही हो जसलाई मैले लक्ष्मीप्रसाद देवकोटाको ‘शाहजहाँको इच्छा’ कवितामा पढेको थिएँ । यो ताजमहल हो । तर के गर्ने ? यो महल पनि अध्याँरो खाडलमा पुरिने भयो । शाहजहाँको प्रेम त आम सर्वसाधारणका लागि निकै ठुलो चुनौति थियो । जसले दुई छाक खस्रो पिठो ख्वाउन सक्दैन, तिनका लागि शाहजहाँको प्रेम निकै दुरुह छ । जुन बेलादेखि शाहजहाँले ताजमहल बनाए त्यसै बेलादेखि गरिबहरूले प्रेम पाउन नै छोडिसकेका थिए । गरिबको प्रेम गर्ने औकात नै पुग्न छाडेको थियो । हरेक प्रेमिकाको माग हुन्थ्यो, ‘मेरो मृत्युपछि शाहजहाँले जस्तै अर्को ताजमहल मेरा नाममा बनाउने भए मात्र म तिमीसँग प्रेम गर्छु, होइन भने… ।’
म झस्किएँ । मेरा दिमाखमा ताजमहलको यो दुरुहता कहिलेदेखि कुण्ठा बनेर बसेको रहेछ मलाई नै थाहा छैन । मैले मेरा कुनै पनि प्रेमिकालाई उनीप्रतिको प्रेमको प्रतीकका रूपमा ताजमहल बनाउने वाचा गर्न सकेको छैन । वर्षौँदेखि सम्भ्रान्त प्रेमको प्रतीकका रूपमा सर्वसाधारणको प्रेमको तगारो बनेर बसिरहेछ यो । उफ्, शाहजहाँ, तिमीले मुमताजका नाममा बनाएको यस प्रेम स्मारकका लागि धेरै कलाकारले पसिना र रगत बगाएका छन् । बदलामा ! बदलामा तिमीले के दियौ ? दुवै हात काटेर सधैँका लागि उनीहरूका कलाको अन्त्य गरिदियौ ? वास्तवमा तिमीले मुमताजसँग प्रेम गरेका थिएनौ । तिमी उमाथि हावी हुन चाहन्थ्यौ, जिउँदो छँदा पनि र मरेपछि पनि । भोलि तिम्रो भ्रमको स्मारक पनि सदाका लागि अन्त्य हुने छ । तिम्रो दिवालीयापनको सिकार भएर मृत्युवरण गरेकी मुमताजको पीडा पनि समाप्त भएर जानेछ ।
मलाई किन यस्तो भइरहेको छ ? मृत्युपीडाले रन्थनिएको म किन यसरी विश्वस्मारकका विरुछ सोचिरहेको छ ? यद्यपि मैले अलिकति आनन्दको सास फेरेँ । ताजमहलले मेरा जीवनमा ठुलो आँधी ल्याएको छ । मैले प्रेम गरेका सबै प्रेमिकालाई ताजमहल उपहार दिने वाचा गर्न नसकेकामा म भित्री मनदेखि माया गर्ने प्रेमिकाविहीन भएको छु । मजस्ता धेरै प्रेमीहरूले आफ्नी प्रेमिकासँग मन मुटुभरि भरिएको प्रेम प्रकट गर्न नै सकेका छैनन् । धिक्कार शाहजहाँ ! तिमी मजस्ता अर्थशक्ति नभएका मान्छेका लागि प्रेमको तगारो बनेर जन्मेका रहेछौ । तिमी मरेर गयौ, तर तिम्रो कर्तूत म र मजस्ताको अवरोधक बनेर रहिरहेको छ । तिम्रो अव्यावहारिक प्रेमको पनि अन्त्य हुने देखिरहेको छु म । तिम्रो ताजमहल पनि पृथ्वीसँगै ध्वस्त हुने छ ।
म हिँडिरहेँ । बाटामा धेरै रङ मिसिएका कोलाजमय दृश्य देखिन्थे । कोही एक्लै कराउँदै दौडिरहेका थिए । कोही रक्सीको बोत्तल ठड्याउँदै कुदिरहेका थिए । कोही ढुङगामा टाउको ठोकेर रगतपच्छे भएर लडिरहेका थिए । कोही खसी, राँगा ढाल्दै थिए । कोही पकाउँदै थिए । कोही फकाउँदै थिए । दानीहरू पुण्य कमाउन सर्वस्व दान गरिरहेका थिए । चोरहरू चोरिरहेका थिए । व्यभिचारीहरू नाबालिका, वृद्धा नभनीकन व्यभिचारमा लिप्त थिए । ओहो ! सर्पको मुखमा च्यापिएको भ्यागुताले पुतली खान आँ गरेजस्तै कसैले केही छोड्ने पक्षमा थिएनन् । कोही कसैको साथी थिएन, कोही कसैको आफन्त थिएन । साथी र आफन्त थियो त केबल तिनीहरूको त्रास, चीत्कार, भयावहता र सम्भाव्य विनासको डर । हाहाकार थियो बस्तीमा, चोकमा, गल्लीमा, घरमा, कोठामा, गाउँमा, वनमा र सबैभन्दा बढी मनमा । म जति हिँडिरहेको थिएँ त्यति कुरूपताका खण्डहर पल्टेका मान्छेहरू भेटिन्थे । तिनका कुरूपताले म थङथिलो भइसकेको थिएँ । प्रकृतिमाथि विजय प्राप्त गर्न तम्सेको आजको मान्छे किन यति धेरै कुरूप देखिएको होला ? फूलमा सुवास नभए झैँ, घाममा ताप नभए झैँ, पानीमा बाफ नभए झैँ, आँखामा आँसु नभए झैँ, नङसँग मासु नभए झैँ लाग्थे मलाई मानवता नभएका आजका मान्छेहरू । कहीँ निकै उज्यालो थियो, कहीँ निकै अँध्यारो थियो । धेरै उज्यालोमा पनि म भयभीत हुन्थेँ, धेरै अँध्यारोमा पनि म भयभीत नै हुन्थेँ । उफ्, म किन यस्तो ठाउँमा अल्पिरैछुु ?
अँध्यारो गल्ली आयो । गल्लीसँगै रक्सीको झुसिलो गन्ध र जिउँदा लासहरूको गन्ध नाकै फुट्ने गरी गनायो । गल्लीको एउटा भव्य घरको झ्यालबाट सकी नसकी एकमुठी उज्यालो बाहिर निस्किरहेको थियो । अत्यास लाग्ने अँध्यारोमा त्यही उज्यालो मेरो हिँड्ने आधार भयो । परबाट हेर्दै हिँडिरहेको थिएँ । घरको नजिक पुग्नै लागेको थिएँ, अचानक त्यस घरको झ्यालबाट एउटी सर्वाङ्ग नाङ्गी भन्न नमिल्ने युवतीले आधी नाङ्गो शरीर देखाउँदै भनी, ‘मोज गर्ने होइन ? आजै त हो नि !’
म झसङ्ङ भएँ । बेसरी डर लाग्यो । बेतोडले दौडिन थालेँ । निकै पर पुग्ने बेलासम्म मेरा नाकमा जिउँदा लासहरूको गन्ध आउन छोडेको थिएन । सास निकै फुल्यो । कन्चट चिटचिटाइरह्यो । पर पुगी थचक्क बसेर निहुरी मुन्टो बनाएर सासको गतिलाई नियन्त्रणमा राख्ने कोसिस गर्दै थिएँ । ‘ए, उठ् साले ।’ भ्वाक्क कसैले लात्तीले ढाड खुस्किने गरेर हान्यो । चार पाँचजना चुल्ठे र मुन्द्रेहरूले लडिरहेको मलाई छामछुम पार्न लागे । ‘साले, जम्मा पाँच रुपियाँ बोक्दो रैछ । मर्ने बेलामा पनि किन यति थोरै बोकेको ?’ फेरि अर्काले एक लात्ती कसेर हान्यो । म ढुनमुनिँदै लडेँ । परबाट एउटाले भन्यो, ‘ले ले पाँच रुपियाँ भए पनि चुरोट आउँछ । कसैको एक रुपियाँ पनि छोड्नु हुन्न, बुझ्यौ केटा हो ?’
बल्लबल्ल उठेर म बाटोे लागेँ । कुन ठाउँ हो मलाई नै थाहा थिएन । सायद अघिको जस्तै यस नयाँ ठाउँमा पनि म पहिले कहिल्यै आएको थिइन । अनेक प्रकारका कुराकानी मेरा कानमा ठोक्किन्थे । कुनै भाषा मैले बुझ्ने, कुनै नबुझ्ने, कुनै नितान्त नयाँ लाग्ने र कुनै नबुझे पनि सुनेजस्ता लाग्ने थिए । कोही ‘अन्तिम भोज’ मनाइरहेका थिए, कोही ‘अन्तिम मोज’ मनाइरहेका थिए । कसैका लागि हाँसेरै बाँकी समय व्यतित गर्नु थियो, कसैका लागि रोएर । कसैलाई कुनै कुराको रोकटोक थिएन । अन्तिम रातमा मान्छेहरू निकै खुला, उदार र समान देखिएका थिए त्यहाँ । आफूले चाहेको गर्न सबैलाई स्वतन्त्रता थियो । मान्छेहरूका अनुहारमा एउटा निर्मम भय नाचिरहेको थियो । पिएका–नपिएका, भोका–अघाएका, झुपडीमा बस्ने–महलमा बस्ने, राम्रा–नराम्रा, काला–गोरा सबैका अनुहारमा एउटै चिन्ता थियो । ठाउँ फरक, भाषा फरक, देश महादेश फरक, अनुहार फरक भए पनि पीडा एउटै थियो, चिन्ता एउटै थियो । सबैमा मृत्युको भय थियो, सबैलाई मर्ने चिन्ता थियो ।
मैले कति नै घुम्न सकेँ र रातभरमा ! अन्तिम पटक सम्पूर्ण धर्ती हेर्न निस्केको म रातभरिमा कीर्तिपुरको डाँडो पनि घुम्न सकिनछु । पूर्वतिर भुकभुके उज्यालो देखियो । मनमा आशा पलायो । बिस्तारै उज्यालो बामे सर्न थाल्यो । उज्यालो उठ्यो, दौड्यो । नभन्दै रातो, तातो सूर्य अँगालाभरिको भएर मलाई अँगाल्न फेरि आयो । आँखा चिम्लेर धेरै बेर मैले मेरो उज्यालोलाई आलिङ्गन गरिरहेँ । धेरै बेरपछि यसो आफैँलाई चिमोटेँ, दुख्यो– म मरेको रहेनछु । आँखा उघारेर हेरेँ, मेरा आँखा अगाडि मेरो धर्ती मुस्कुराइरहेको थियो । चराहरू गीत गाइरहेका थिए । रूखका पातहरू नाचिरहेका थिए । वल्लो डाँडाबाट बाँसका टुप्पाले बोलाइरहेका थिए, पल्लो डाँडाको बस्तीमा भएका केराका बोटले ‘आउँदिन’ को सङ्केतमा पात हल्लाइरहेका थिए । आकाशलाई हेरेँ, पिकासोको अमूर्त रङ्ग संयोजनयुक्त गहन क्यानभासजस्तै हल्का र गाडा रातो रङ्गमा गम्भीर बनेर ममाथि घोप्टिएको थियो ।
हिजो रातका सम्पूर्ण त्रास त हराएर गयो तर मन छ्याङ्ङ भएन । जति भ्रम र निरर्थक ठाने पनि जीवनको सबैभन्दा ठुलो र अनिवार्य सत्य मुत्युबाट को पो पर भाग्न सक्थ्यो र !
साभार युगसुधा adbalakrishna@yahoo.com

तपाईंको प्रतिकृयाहरू