बीमा चेतनाका कमीका कारण बीमाको पहुँचमा कम मात्रै नागरिक छन्

२९ श्रावण २०७५, मंगलवार मा प्रकाशित

का.वा. प्रमुख कार्यकारी अधिकृत, रमेशकुमार भट्टराई, युनाइटेड इन्स्योरेन्स कम्पनी

नेपालमा बीमाको इतिहास ७० वर्षभन्दा लामो भए पनि बीमाको पहुँच अझै पनि ९० प्रतिशतभन्दा बढी नागरिकसम्म पुग्न सकेको छैन । औपचारिक तथ्यांक नभए पनि बढीमा १० प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा रहेको विज्ञहरू बताउँछन्् । नेपालमा अपेक्षाकृत रुपमा बीमा व्यवसाय विस्तार हुन सकेको छैन । पछिल्लो समय निर्जीवन बीमामा भने आकर्षण बढेको बताइन्छ । प्रस्तुत छ, यसै सन्दर्भमा युनाइटेड इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग असन बजार साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंशः

निर्जीवन बीमा बजार वर्तमान अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
समग्रमा भन्नु पर्दा जनरल इन्स्योरेन्स कम्पनीको विजनेस राम्रो छ । यसमा पनि कुन कम्पनीको चाहिँ राम्रो छ भन्ने कुरा हुन्छ । अहिलेको विजनेस भनेको पूर्ण रुपमा ‘क्लेम बेस विजनेस’ हो । अहिले मार्के्टिङले त्यसै विजनेस ल्याउन सक्दैन । मैले देखेको कुरा अहिले जसले छिटो दाबी भुक्तानी दिन्छ, जसको सेवा सरल र छिटो छ उसकै विजनेस बढ्छ । पछिल्लो समय जनरल इन्स्योरेन्सको विजनेस क्लेम बेस भएको छ । नेपालको बीमा बजारमा भनेको बंगलादेशको जस्तै भएको छ । बंगलादेशमा जम्मा ४५ वटा कम्पनी छन्् तर ती ४५ कम्पनीमध्ये एकदम थोरैले मात्रै राम्रो विजनेस गरेका छन्् । अहिले नेपालमा १७ वटा जनरल इन्स्योरेन्स कम्पनीले कारोबार गरिरहेका छन्् । बाँकी ३ वटा कम्पनीले पनि चाँडै कारोबार शुरु गर्दैछन्् । ती सबै कम्पनी चल्छन् । तर, कुन कम्पनी कति विजनेस साइजबाट चल्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यहाँ २० वटा कम्पनीलाई नै विजनेस नपुग्ने भन्ने कुरा छैन । निर्जीवन बीमा कम्पनीका लागि विजनेस ल्याउने ठाउँ धेरै छन्् । विजनेस ल्याउनलाई कुनै ठूलो समस्या छैन । विशेष र महत्वपूर्ण कुरा चाहिँ बीमा चेतनाको हो । बीमा चेतनाको अझै विकास हुन सकेको छैन । बीमाको चेतना गाउँ–गाउँमा पुग्न बाँकी छ । बीमाबारे नागरिकले बुझन नसकेका कारण नै अझै बीमाको पहुँचमा कम मात्रै नागरिक छन्् ।

पछिल्लो समयमा इन्स्योरेन्सहरूको संख्या बढिरहेको छ, यसले बीमा बजारमा कस्तो प्रभाव पर्छ ?
सामान्य भाषामा बीमा भनेको जोखिमलाई स्थान्तरण वा सार्नु हो । कुनै चिज वा वस्तुमा जोखिम धेरै देखियो भने त्यो जोखिम बीमा कम्पनीमा सार्ने काम नै जनरल इन्स्योरेन्सको हो । त्यो जोखिम सारे बापत केही रकम बीमा कम्पनीले लिन्छ । जोखिमको प्रकार र बीमा गरिएको अवधिका आधारमा जोखिमबाट भएको क्षतिपूर्ति बीमा कम्पनीले गर्छ । बीमामा दुई पक्ष हुन्छ । प्रथम पक्षले म तपाईहरूको यो समयदेखि यो समयसम्म, यस्तो यस्तो खालको जोखिम भयो भने बहन गर्छु भनेर एउटा प्रपोजल दिएको हुन्छ । द्धितीय पक्षले ती जोखिमहरूलाई हस्तान्तरण गर्छ । कतिपय जोखिमहरू देखिने हुन्छन्् भने कतिपय जोखिमहरू नदेखिने खालका हुन्छन्् । कतिपय जोखिमहरूलाई आफ्नै फिजिकल रुपले घटाउन सकिन्छ । तर, जति घटाए पनि कतिपय जोखिमहरू घट्दैनन् । ती आफुले घटाउन नसकेको जोखिमहरू इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गर्नुपर्छ । जोखिमलाई पूर्ण रुपमा निर्मूल पार्न नसकेपनि बीमा कम्पनीले केही हदसम्म जोखिम कम गर्न मद्दत गर्छन् ।
जति इन्स्योरेन्सहरूको संख्या बढेतापनि विजनेसको आकार त्यही नै हुन्छ । पहिलाको भन्दा विजनेसको आकार अहिले बढेको छ । गत वर्षको भन्दा अहिलेको विजनेस १६ प्रतिशतले बृद्धि हुँदै आएको छ । अब २०७५र७६ मा पनि विजनेसको आकार १५ प्रतिशत देखि १८ प्रतिशतसम्म मात्रै बढ्छ । हाल निर्जिवन बीमा कम्पनिहरू २० वटा पुगेका छन्् । अबका दिनमा नयाँ सिटी तथा उद्योगधन्दाहरूको विकास हुने हुँदा कारोबार बढ्दै जान्छ । बीमा समितिले बीमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन दिएको छ । तर, पुँजी बढ्दैमा विजनेस बढ्ने हुँदैन । सबै बीमा कम्पनीहरूलाई कति विजनेसको फिगरमा बस्ने भन्ने कुरामा चुनौती छ । एक अर्ब पुँजी पुग्दा विजनेसको साइज कतिमा राख्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । विजनेस साइज कम लिएर बसेका तर एक अर्ब पुर्याइसकेका कम्पनीलाई अफिस चलाउन गाह्रो हुन्छ । ५०।६० करोडको प्रिमियम त कर्मचारी पाल्नलाई मात्र ठिक हुन्छ । त्यसैले बीमा कम्पनीहरूले पुँजी बढाएसँगै विजनेस पनि विस्तार गर्दै लैजानुपर्छ ।

यतिबेला बीमाको पहुँचमा कममात्रै नागरिक पुगेको तथ्यांक छ, थोरैमात्र नागरिकमा बीमाको पहुँच पुग्नुमा के कमजोरी हुनसक्छ ?
बीमाको पहुँचमा कम मात्रै नागरिक छन्, यसको दोष कसैको टाउकोमा मात्रै थोपारेर हुँदैन । मैले अघि पनि भनिसके बीमामा नागरिकको पहुँच अत्यन्तै कम हुनुमा बीमा चेतनाको अभाव नै प्रमुख कारण हो । अहिले निर्जीवन बीमामा आफ्नो लागि भन्दा पनि बाध्यकारी व्यवस्थाका कारण बीमा गर्ने प्रचलन रहेको छ । बीमा गरेपछि बीमा कम्पनीले आफ्नो जोखिम बहन गरिदिन्छ, बीमा गरेको आफंै लागि भन्ने कुरा अझै आममानिसले बुझ्न सकेका छैनन् । अझ यो मोटर बीमामा मान्छेले के सोच्या हुन्छन् भने बीमा आफ्नो लागि भन्दा पनि बैंकको लागि गरिएको भन्ने खराब सोचाई हुन्छ । बैंकमा ऋण लिएर गाडी किनेको मान्छेले किस्ता तिर्दासम्म बीमा गरेको हुन्छ । तर, जब उसले बैंकको कर्जा चुक्ता गरिसक्छ अनि बीमा गर्नुपर्छ भन्ने कुरा बिर्सन्छ । कर्जा तिरिसके पछि पनि रिक्स त हुन्छ, बीमा गर्नुपर्छ भन्ने कुरा मान्छेको मानसिकतामा आउँदैन ।
सबै बैंकका कर्जा शाखामा बस्नु भएका साथीहरूलाई फूल भ्यालूको बीमा गनु पर्छ भन्ने कुरा बुझाउन सक्यौ भने मात्रै पनि हाम्रो ३० प्रतिशत विजनेस बढ्छ । ५ करोड रुपैयाँको घर राखेर कुनै एउटा व्यक्तिले मानौ २० लाख रुपैयाँ कर्जा लिन्छ । त्यो मान्छेको घर ५ करोडको भए पनि कर्जा लिएको २० लाख रुपैयाँको मात्रै बीमा गर्ने प्रचलन छ । घरको भ्यालू अनुसारको बीमा गर्ने हो भने विजनेस राम्रोसँग बढ्ने थियो ।

भूकम्पपछि निर्जीवन बीमाप्रति आकर्षण बढेको हो ?
भूकम्पपछि धेरैले बीमा गर्नुपर्ने रहेछ भन्ने सोचे । भूकम्प गएको केही समयसम्म त आकर्षण राम्रै देखियो । त्यतिबेला हामीलाई फोन पनि धेरै आएको हो । तर, जब भूकम्प गएको समय लम्बिदै गयो, बीमा गर्नुपर्छ भन्ने कुरा पनि मान्छेले बिर्सिदै गए । भूकम्प गएपछि बीमा गर्नै पर्छ भन्ने सोचेका मान्छे पनि यतिबेला चुपचाप छन्् ।

बीमा दाबी भुक्तानीमा बीमा कम्पनीले ढिलाइ गर्छन् भन्ने जनगुनासो बेला बखतमा आइरहन्छ, वास्तवमा दाबी भुक्तानीमा ढिलाइ हुनुको कारण के हो ?
एकदमै सही प्रश्न गर्नुभयो । यो निकै चर्चामा आएको विषय पनि हो । मैले अघि पनि भनिसके अबको बीमा बजार भनेको क्लेम अर्थात दाब्ीमा भर पर्नुपर्ने हुन्छ । दाबी जसले सहज र छिटो तरिकाले भुक्तानी दिन सक्छ उसलाई विजनेसको खाँचो हुँदैन । मैले मेरो कम्पनी राम्रो छ भनेर भन्दै हिड्नु भन्दा एउटा कुनै मान्छेले त्यो कम्पनी चाहिँ राम्रो छ भुक्तानी सहज र छिटो तरिकाले दिन्छ भन्नुमा निकै फरक हुन्छ । यस कारण पनि कुनै कम्पनीले दावी भुक्तानीमा ढिलाई गर्छन भन्ने लाग्दैन । १० हजार रुपैयाँको दावी भुक्तानी दिन ढिलाई गर्दा १० लाखको विजनेस गुम्न सक्छ । ढिलाइका सन्दर्भमा भन्नु पर्दा नियम प्रक्रिया पुग्न नसकेर कहिले काही ढिलाई हुनसक्छ तर त्यो प्रक्रियालाई ढिलाई भन्न मिल्दैन । कानुनी प्रक्रिया त पूरा गर्नु पर्यो नि । कानुनी प्रक्रिया बाहेकका कुरामा भुक्तानी दिन बीमा कम्पनीले ढिलाई गर्दैनन् यदि कसैले गरिहाले पनि उनीहरूकै बद्नाम हुन्छ ।

युनाइटेडलाई अझ सक्षम बनाउन आगमी आर्थिक वर्षको प्लानिङ कस्तो छ ?
बोर्डको अपेक्षा ठूलो छ, केही समय अघि ठूलो संख्यामा कर्मचारी अर्को संस्थामा गए । नयाँ बीमा कम्पनीहरू थपिएकाले हाम्रो संस्थामा काम गरिरहेका धेरै साथीहरू नयाँ कम्पनीमा जानु भयो । फेरि बीमा कम्पनीमा काम गर्नका लागि पुराना कर्मचारीहरूको धेरै आवश्यकता पर्दछ । अधिकांश शाखामा बीमा बुझेको मान्छे नै चाहिन्छ । बीमाको दायरा बढाउन आफ्नो तर्फबाट जेजति सकिन्छ सोही अनुसारको का मगर्दै जानेछौं । हाम्रो शाखा सञ्जालहरू अहिले २९ वटा रहेका छन्् । आगामी आर्थिक वर्षमा ति शाखाहरूलाई अपग्रेड गर्दै लैजाने योजना बनाएका छौं । त्यसका अलवा आवश्यकता अनुसार केहि शाखा थप्ने समेत सोचका छौं ।

बीमा कम्पनीहरूका लागि चुनौतीहरू के–के छन् ?
सबैभन्दा ठूलो चुनौती भनेको फर्जी दाबी हो । यहाँ कल्पना नै गर्न नसकिने गलत दाबी समेत गर्ने गरेको पाइन्छ । सवारी दुर्घटना हुन्छ अनि हत्त न पत्त बीमा गरेर अनि यहाँ दुर्घटना भयो भनेर क्लेम गर्ने चलन छ । बीमा गर्नुपर्छ भन्ने दुर्घटना हुनुभन्दा अगाडि मतलब हुँदैन जब दुर्घटना हुन्छ अनि बीमा गर्न दौडियो, अन्य फर्जी दाबीहरू भेटिने गरेका छन्् ।
एकपटक त फर्जी क्लेम गर्ने पक्राउ पनि परेका थिए । बिहान १० बजे दुर्घटना भए पछि दिउँसो १ बजे बीमा गरेछ र ३ बजे फेरि दाबी गर्न आएछ । दुर्घटनाका बारेमा प्रहरीले तयार पारेको मुचुल्काबाट त त्यो प्रमाणित भयो र पक्राउ पर्यो । अर्को फर्जी मेडिकलको बिलमा पनि हुन्छ । कतिपय बिलमा त बिरामीले प्रयोग गर्नै नमिल्ने औषधि समेतको रकम जोडेको हुन्छ । हामीलाई त्यो औषधिको बारेमा टम्र्स एन्ड कन्डिसन त थाहा हुँदैन । तर, त्यस्तो बेलामा हामीले डाक्टर समेत बोलाउने गरेका छौ । फर्जी दाबी हामीलाई ठूलो चुनौती रहेको छ । म्यादी पोलिसीको विषयमा केही समस्या देखिने गरेका छन्् । म्यादी पोलिसीमा कभर नोट काटेर बीमा गरिन्छ, र बेलुका कतिबेला हुन्छ फुर्सद त्यसपछि आएर इन्ट्री गर्नुपर्ने हुन्छ । हो त्यो इन्ट्री गर्न बिर्सिएपछि तपाईले भनेको जस्तो समस्या सिर्जना हुन्छ ।

बीमा कम्पनीहरूको संख्या अधिक भयो भन्ने टिप्पणी शुरु भइसकेको छ, भोलिका दिनमा बीमा कम्पनीहरूका लागि समेत मर्जर नीति ल्याउनुपर्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?
सबैभन्दा ठूलो कुरा समय हो । हामी सबै समयअनुसार चल्नुपर्ने हुन्छ, भोलि कस्तो समय आउँछ भन्न सकिन्न । मर्जरको विषयमा अहिले तिमीहरू मर्जरमा जाउँ भन्दा जान सजिलो छैन । बीमा कम्पनीबीच एकआपसमा इगो छ । भोलिका दिनमा भने मर्जर हुन सक्छन्् । अर्को कुरा अहिले बीमा कम्पनीहरूमा क्रस होल्डिङ छ । यदि बीमा समितिले क्रस होल्डिङ बन्द गर्ने नीति ल्यायो भने बीमा कम्पनीहरू आफै मर्जरमा जान्छन्् ।

नेपालमा बीमाको पहु“च विस्तार गर्न के गर्नुपर्छ ?
बीमाको पहुँच नेपालको सन्दर्भमा कम नै छ । यसमा सबैभन्दा महत्वपुर्ण भनेको जनचेतना हो । सर्वसाधारणहरूले बीमा भन्ने कुरा बाहिरी रुपबाट बुझेका छन्् । तर बीमा गर्दा के फाइदा हुन्छ भन्ने चेतनाको अभाव भइरहेको छ । यसकारण सर्वसाधरणहरूलाई बीमा महत्वको ज्ञानमा कमी भएर सबै मानिसहरू बीमा पहुँचमा पुग्न नसकेका हुन् । त्यस्तै, बीमा कम्पनीहरूमा आबद्ध भएका कर्मचारीहरूमा पनि बीमा ज्ञानको अभाव छ । उनीहरूलाई बीमा भनेको मात्र थाहा छ । मानिसहरूलाई बीमा गर्दाको फाइदाको बारेमा सर्वसाधरणहरूलाई बुझाएर भन्न सक्ने क्षमताको पनि कमी भएको कारण बीमा पहुँच कम भएको हो । त्यसकारण बीमा क्षेत्रमा बीमा सम्बन्धी राम्रो ज्ञाना भएको मानिसले जनचेतना फैलाउने खालको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।

ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार गर्न युनाइटेड इन्स्योरेन्सले कस्तो योजना बनाएको छ ?
पछिल्लो दिनहरूमा बीमा कम्पनीहरूले शाखा विस्तार कार्यलाई आक्रामक ढंगले अगाडी बढाउँदै आएका छन्् । सबै बीमा कम्पनीहरूले सात वटै प्रदेशमा शाखा विस्तार तीव्र रुपमा गरेका छन्् । साथै ७ वटै प्रदेशमा १।१ वटा रिजनल अफिस राख्ने काम पनि सुरु गरेका छन्् । सबै प्रदेशमा रिजनल अफिस भएपछि विजनेस फिगर पनि बढी नै हुन्छ । एउटा प्रदेशमा एउटा रिजनल अफिस भएपछि त्यो रिजनलले गाउँ गाउँमा प्रचार प्रसार नगर्ने भन्ने हुँदैन । बीमा पहुँच विस्तार गर्नका लागि बीमा कम्पनीहरूले गाउँ गाउँमा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू राखेका छन् ।

तपाईंको प्रतिकृयाहरू