अलौकिक आशीर्वादयुक्त ऋषिमन तोयनाथ

७ फाल्गुन २०७४, सोमबार मा प्रकाशित

रेवतीरमण सुवेदी
तोयनाथ सायद ८२ वर्षको उमेरमा हिँड्दै हुनुहुन्थ्यो ! स्वास्थ्य परीक्षणको सिलसिलामा राजधानी आइपुग्नुभएका बखत उहाँसँग अस्पतालमा प्रथमपटक भेट भएको थियो । उहाँका ज्येष्ठ सुपुत्र वरिष्ठ सञ्चारकर्मी युगनाथ शर्मा पौडेल मेरा सहृदयी मित्र भएका कारण मलाई तोयनाथसँग भेट हुने अवसर जुरेको थियो । सामान्य, होचा कदका, आम नेपालीसरह मध्यम हाइट, गहँुगोह्रो र चिटिक्क परेको शरीर हेर्दा प्रफुल्ल अनुहार, छोराको साथी भनेर मलाई नियालेर हेर्नुहुँदा उहाँका तेजिला आँखाले कतै सुमसुम्याइरहेको अनुभूति हुन्थ्यो । त्यस्ता अलौकिक हातहरूले सुमसुम्याइरहेजस्तो लाग्ने अनुभूतिहरूलाई मानिसले जोगाउन सके सायद दुःखको परिभाषा शब्दकोशमा अर्कै हुने थियो होला । मैले पनि उहाँसँगको त्यो सान्निध्य बिर्सिसकेको थिएँ । कांग्रेसको त्यस्तै कुनै अर्कै सन्दर्भमा फोन गरेको युगनाथजीले भन्नुभयो, ‘रेवतीजी ! म त बुबाको शोकमा चार दिनबाट पर्वतमा छु । पिएल (गणेशमान धर्मपुत्र) पनि आउँछु भनेका छन् । तपाईं पनि कसैगरी आउनुहोस् ।’
युगनाथजी पिताजीको १३ दिनमा बसेका बखत मेरासामु तुरुन्त काठमाडौं–कुस्मा बस सेवाबाट पर्वत पुग्नुको विकल्प थिएन । युगनाथजी २२ वर्षको हुँदादेखि उहाँसँगको संगत अद्यापि निरन्तर एवं अटुट सम्बन्ध छ । २६ वर्षमा २५ जना र १० वर्षमा ११ जना प्रधानमन्त्री फेरिने नौ महिना पनि एउटा मित्रता टिक्न नदिने संस्कार शासित मुलुकमा एक राजनीतिक योद्धा, लेखक र अर्का राजनीतिकर्मी पत्रकारबीच तीन–चार दशकसम्म मित्रता जोगिनु चानचुने विषय होइन त्यो पनि आजको उपभोक्तावादी समाजमा । तर, हाम्रो मित्रता यसरी जोगिनुको कारण पनि छ ।
यो नेपाली कांग्रेस ०४२ सालको सत्याग्रह आह्वान हुनु ठीक अघिको कुरा हो । त्यसबखत युगनाथजी गणेशमान, किसुनजीले अत्यन्त भर गरेर च्यापेका नेविसंघको केन्द्रीय सदस्य जल्दोबल्दो विद्यार्थी नेता हुनुहुन्थ्यो । उहाँ तत्कालीन सेलिब्रेटी ‘रहस्य साप्ताहिक’मा भूमिगत शैलीले सम्पादन कार्य हेर्नुहुन्थ्यो । श्री ५ वीरेन्द्र र नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाबीचको दुवैको ‘विकल्प’ खोज्ने घमासानले कांग्रेसको राजनीतिक छविलाई अत्यन्त धमिलो तुल्याइरहेको थियो । किनभने राजा वीरेन्द्रले खोज्ने विकल्प त एकदम स्पष्ट थियो । केही गर्नै पर्दैनथ्यो । ‘निर्दल’ को ठाउँमा ‘बहुदल’ गरिदिए पुगिहाल्थ्यो । तर, गिरिजाले खोज्ने बहुदलको विकल्पचाहिँ के हो ? गिरिजाको विकल्प खोजीले अलमलिएका कांग्रेसजनलाई अलमलबाट जोगाउने उद्देश्यले ‘त्यसोभए दुई दलीय व्यवस्था गरौँ न त एउटा सत्तामा एउटा प्रतिपक्षमा बस्ने । दुवै सशक्त हुन्छन् र राम्रै हुन्छ ।’ शब्दार्थसहित एउटा लामै लेख तयार पारेको थिएँ । युगनाथजीसँग साप्ताहिक एउटा स्तम्भ लेख्ने सम्झौता थियो । पूरै लेख छापिदिनुभयो । छिट्टै सत्ता प्राप्ति विकल्पमा दौरा–सुरुवाल जोहो गर्न सोचिरहेका प्राधिकार कांग्रेसी जमातमा स्मेल हुने त कुरै भएन । तर, त्यो लेखले दारबारलाई भने निकै हल्लाएछ । प्रकाशक मुरारीप्रसाद गौतमलाई तुरुन्त जेल हाले । बजारबाट पत्रिका थुतेर जलाई दर्ता खारेज गरियो । युगनाथजीले भागाभाग गरेर ज्यान जोगाएको पछि मलाई विस्तारपूर्वक सुनाउनुभयो । त्यसयता हाम्रो मित्रता अहिलेसम्म सौहार्दपूर्ण रूपमा अगाडि बढेको छ । अहिले त ३३ वर्षपछि त्यतिखेरका बहुदलवादीहरू ‘लोकतान्त्रिक’ ‘वाम’ गठबन्धन भन्दै दुई दलीय व्यवस्थाको अभ्यास गर्दै रहेको भेटिएका छन् । यसरी उहाँका पिताजीको स्मृति ग्रन्थमा ठाउँ पाइरहेको छु ।
समय गएको थाहै हुँदैन । १६ पुस, वार्षिकी आइसकेछ । ‘अक्षर भनेको ब्रह्म हो । ब्रह्मबाट बुबालाई श्रद्धाञ्जली अर्पण गर्छु । एउटा स्मृतिग्रन्थ निकाल्छु । तपार्इंले पनि लेखिदिनुपर्छ’, युगनाथजीले भन्नुभयो, ‘बुबा जानुभन्दा अघिल्लो राति आमालाई उठाउनुभयो । जनैको साँचो खोलेर हातमा दिँदै भन्नुभयो, ‘अब मलाई माथिबाट बोलावट आयो । छोराहरूलाई बोलाऊ । दुवै भाइ (कान्छो भाष्कर पौडेल) खुसी हुने गरी बाँडफाँड गरिदेऊ भन्नुभयो ।’
यसबाहेक मिहिनेत गरेर केलाएर लेख्दै जाने हो भने एउटा पुस्तक नै तयार हुने सामग्री एकसरो ज्ञात भइसकेको थियो र लेख्न अग्रसर हुँदा एकखालको ‘स्वान्तसुखाय’ अनुभूति भइरहेको छ ।
तोयनाथ उपाध्यायका ८३ वर्ष लामो जीवनगाथाका धेरै कुरा प्रस्तुत ग्रन्थका उहाँसँगका अन्तरंग संस्मरणहरूमा आइसकेका हुनाले त्यतातिर म धेरै जान चाहन्नँ । आध्यात्मिक ज्ञान दर्शनका शिखर पुरुष, जीवनभर गौपालक पूजक, अगुवा कृषक, बाटो, पुल, स्कुल, पाटी–पौवा, मन्दिर आदि÷इत्यादि निर्माणमा पसिना बगाउन पाउँदा हर्षित भएर रमाउने स्वभाव भनेपछि यसखालका व्यक्तित्व कुनै कालखण्ड र कुनै पनि समाजका एक ऋषिमुनिजस्ता या ऋषिमनजस्ता हुन्छन् । दुई वटा कुराबाट मैले उहाँलाई ‘अलौकिक आशीर्वादयुक्त ऋषिमन’ भनेको हुँ ।
पहिलो, ‘जानुभन्दा पहिले माथिबाट बोलावट आएको सुन्नु नै अलौकिक नभई त्यो सम्भव हुन्न । यदि, अलौकिक आशीर्वाद बेगर मानिसले त्यसरी भन्न सक्ने भए सायद दुनियाँमा औषधि र अस्पतालको व्यापार नै हुन्न थियो ।
दोस्रो, उहाँ जन्मिएको ठाउँ माछापुच्छ«ेको काख, कालीगण्डकीको तिर परापूर्वकालदेखि नै ऋषिमुनि जन्मने, हुर्कने, खेल्ने, तपस्या गरेर सिद्ध प्राप्त गर्ने स्थल भनेर वेद, पुराण, उपनिषद् तथा शास्त्रहरूमा वर्णित छ । त्यस क्षेत्रबारे धुरन्धर वेदशास्त्रविद् शोध, अनुसन्धान शिरोमणि योगी नरहरिनाथले एक ठाउँमा लेख्नुभएको छ, ‘३३ कोटि देवताले ब्रह्माण्डमा शासन गर्न माछापुच्छे«को ‘खेचराद्र’ र मुक्तिनाथको ‘कैलाश’लाई हिउँदे–वर्षे ६÷६ महिने राजधानी बनाएका थिए । जहाँबाट सूर्यका नाति मनुले, तिनका सन्तान इच्छाकु वंश दशरथ, रामले शासन गरे । तिनैका सन्तान एक वंशबाट लिच्छविको एक शाखा शाक्य वंशबाट बुद्धको जन्म भएको पौराणिक शास्त्रहरू प्रमाण छन् ।’ एक अर्को ठाउँमा योगीले लेख्नुभएको छ, ‘कालो माटो, कालो ढुंगा, कालो पानी, कालो सुन (दुर्लभरत्न), कालो अयस्कान्त मणि (महाभारतका कृष्णलाई चोरीको वात लागेको शेमन्त मणि) को खानी क्षेत्र कालीगण्डकी ।’
यस्तो ठाउँमा जन्मनु, हुर्किनुभएका तोयनाथमा हाम्रा तेस्रो आँखाले ठम्याउन नसकेका ऋषिमुनि तपस्वी अंश हुनु अस्वाभाविक भएन । उहाँका जीवनका उत्तराद्र्धतिरका घटनाले त्यो दर्शाउँछ पनि । कालीगण्डकी तिर मोदी–बेनी नृसिंह भगवान्को मन्दिरमा महिनाँै चौबिसै घण्टा कालीगण्डकीको कलकल सुन्दै भजनकीर्तन, पूजापाठ, न्यासध्यानमा रमाई कालीगण्डकीको पहरो फोेरेर ध्यान, तपस्या, साधना गुफा निर्माण गर्ने योजना सुनाउनुभएको थियो । उहाँमा यसखालको ध्यान, तपस्या, साधना गर्ने विचार आउनु ऋषिमनकै द्योतक हो । यसै स्मृति ग्रन्थमा उहाँको संगत र शिक्षा पाएको एक संस्मरणमा ८४ हजार ऋषिमुनिमध्ये एक ठानेको उल्लेख भएको छ ।
३ पुस ०७४
(साभारः तोयनाथ बार्षिक विशेषांकबाट)

तपाईंको प्रतिकृयाहरू